‘यो गाउँको ठिटो म…’ आदित्यनारायण झाको पहिलो रेकडेर्ड गीत थियो । चलचित्र ‘मोहनी’ का लागि शम्भुजित बास्कोटाले संगीत भरेको उक्त गीत उनले साढे चार वर्षको छँदा गाएका थिए ।
लन्डनबाट ‘कन्टेम्पोरेरी म्युजिक’मा स्नातक गरेका आदित्यले जी टेलिभिजनको चर्चित सांगीतिक कार्यक्रम ‘सारेगामापा’ बाट आफूलाई सफल उद्घोषकका रूपमा पनि चिनाए । बाल्यकालमै उनले नेपालीसहित झन्डै दुई दर्जन चलचित्रमा स्वर र आधा दर्जन भारतीय चलचित्रमा अभिनयसमेत गरेका छन् । कलिलो उमेरमै चर्चा बटुलेका आदित्य हिन्दी चलचित्र ‘सापित’ मार्फत पहिलोपटक नायकका रूपमा डेब्यु गरेका छन् । उदितनारायण-दीपा झाका एक्ला यी सन्तानले उमेरले भर्खर बाइसमात्रै टेकेका छन् जो आफूलाई ‘लामो रेसका घोडा’ भन्न रुचाउँछन् । मार्च १९ बाट विश्वभर एकैसाथ प्रदर्शन भएको चलचित्र प्रवर्द्धनका लागि दौडाहामा रहेका नवनायक आदित्य नारायण झासँग हालै निर्मल श्रेष्ठले हङकङबाट गरेको टेलिफोन कुराकानी :
तपाईंसँग नेपाली भाषामा कुरा गर्दा हुन्छ ?
(उनीले नेपाली र अंग्रेजीमा शब्द मिसाउँदै बोले…) हुन्छ किन नहुनु, घरमा मेरो पापा मम्मी बोल्ने भाषा नेपाली नै हो, त्यति राम्रो बोल्न सक्दिनँ होला, बुझ्न त म प्रायः बुझ्छु ।
नायकका रूपमा पहिलो अनुभव कस्तो रह्यो ?
एकदमै राम्रो । पहिलोपटक स्टोरी सुन्दा नै म आकषिर्त भएको थिएँ । प्रायः हिरोहरू कलेज रोमान्स वा लभ स्टोरीमा डेब्यु गर्छन् । तर, मेरो रोजाइ एक्सन थियो । चलचिमा हरर लभ स्टोरीसँगै प्रशस्त एक्सन र एडभेञ्चर पनि छन् ।
सापितको कथावस्तु कस्तो छ ?
फिल्ममा अमन (आदित्य) र काया (श्वेता अग्रवाल) प्रेमीप्रेमिका हुन्छन् । कायाको परिवारलाई पुस्तौनी श्राप लागेको हुन्छ, उनलाई त्यसबाट मुक्ति दिलाउन नायकले गरेको संघर्ष चलचित्रमा हेर्न सक्नुहुन्छ ।
पहिलो चलचित्रबाट दर्शक प्रतिक्रिया कस्तो पाउने आशा छ ?
चलचित्रका सबै पक्षहरू उत्तिकै सबल छन् । विक्रम भट्ट भारतीय चलचित्र जगतमा कहलिएका निर्देशक हुनुहुन्छ । गीत प्रवर्द्धनका जिम्मा लिएको टीसीरीजले सीडी रिलिज भएको छोटो समयमै राम्रो बजार लिएको बताएको छ । सुरुमै एक हजार पि्रन्टसहित फिल्म वल्र्डवाइड रिलिज हुँदैछ । म निकै आशावादी छु ।
चलचित्रका अधिकांश गीतहरूमा यहाँकै स्वर रहेछन् नि ?
सात गीतमध्ये चारवटा मैले गाएको छु । टाइटल गीत ‘सापित हुआ…’ को शब्द र संगीत पनि मेरै हो । बाँकीमा श्रेया घोसाल र सुनिधि चौहानलगायतले स्वर दिएका छन् ।
अन्य चलचित्रहरूमा पनि अभिनय गर्दै हुनुहुन्छ ?
धेरै फिल्महरूको प्रस्ताव आइरहेको छ तर म संख्यामात्र बढाउने सोचाइमा छैन । सम्भवतः केही महिनाभित्रै विक्रम भट्टकै अर्को चलचित्रमा अभिनय गछर्ु ।
चलचित्रले नेपाली दर्शकहरूलाई कत्तिको आकषिर्त गर्ला ?
नेपालमा पनि मेरा थुप्रै फ्यानहरू छन् भन्ने सुनेको छु । हामीले विश्वभरका दर्शकलाई ध्यानमा राखेर चलचित्र बनाएका छौं । नायक रूपमा मेरो डेब्यु सशक्त र फरक छ जसलाई नेपाली दर्शकले पनि मन पराउनेमा विश्वस्त छु ।
नेपाल जाने योजना छैन ?
जाने धेरै मन छ, चाहेर पनि समय निकाल्न सकेको छैन । हाल व्यस्तता झन् बढेको छ । तर, उत्कृष्ट कार्यक्रममार्फत नेपाली फ्यानहरूलाई प्रत्यक्ष भेट्ने सोचाइमा छु । नेपालमा पनि मेरा थुप्रा साथीहरू छन् । म अलि सानो छँदा चार-पँाच पटक नेपाल गएको छु । पापाका साथीहरू आउँदा हाम्रो घरमा पनि नेपालबारे बहस चल्ने गर्छ ।
दर्शकहरूले अब टेलिभिजन प्रस्तोताका रूपमा देख्ने छन् कि छैनन् ?
टेलिभिजनका दर्शकहरू भिन्दै छन् । अहिले पनि मलाई थुप्रै अफरहरू आएका छन् । मनोरञ्जन क्षेत्रअन्तर्गतका सबै कामका लागि म तयार छु । टेलिभिजन, गायन वा अभिनय जुनसुकै माध्यमबाट मैले दर्शकलाई सन्तुष्ट पार्न सक्नुपर्छ । ‘आई उड लाइक टु वर्क एज अ परफेक्ट इन्टरटेनर…,’
नायक छोराको अभिनयबारे आमा-बाबु (दीपा र उदित) को प्रतिक्रिया के छ ?
निकै खुसी हुनुहुन्छ, । मैले अहिलेसम्म पापा-मम्मीलाई फिल्म देखाएको छैन । म चाहन्छु, उहाँहरूले पनि थिएटरमै बसेर फिल्म हेनर्ुहोस् ।
सानो उमेरमा आफ्नै कमाइले घरगाडी जोडनुभएको छ, कस्तो अनुभूति हुन्छ ?
धेरै खुसी लाग्छ । संसारभरका दर्शकको मायाले नै म यहाँसम्म पुगेको हुँ । मेरो ‘खुशनसिबी’ होला ठूलाठूला निर्माता, निर्देशकबाट मलाई कामका अफर आएका छन् । करियर राम्रो हुँदै जाँदा नाम, पैसा, इज्जत सबै एकैपटक आउँदोरहेछ, ‘इट्स पार्ट अफ द प्याकेज…।’ तर, यो सबै क्षणिक हुन् भन्ने पनि मैले बुझेको छु, शाहरुख पनि सधैं यस्तै रहँदैनन् ।
गायक उदितनारायणका छोरा नभएका भए यो स्थान सम्भव थियो ?
पापाको प्र्रसिद्धिले सहयोग नभएको होइन तर अन्तमा प्रतिभा नै अगाडि आउँछ, कसैका सहयोगले एक-दुई पटक काम पाउन सकिएला तर तेस्रो पटकका लागि आफूमा खुबी हुनैपर्छ । भारतका थुप्रै प्रसिद्ध अभिनेता, गायक र संगीतकारका सन्तान आफ्ना आमा-बुवाका क्षेत्रमा सफल हुन नसकेका थुप्रै उदाहरण छन् । व्यावसायिक गायकका रूपमा होइन, असल पिताका रूपमा उहाँले मलाई धेरै कुरा सिकाउनु भएको छ ।
विभिन्न युवतीसँग तपाईंको सम्बन्धले बेलामौकामा निकै चर्चा पाउँछ नि ?
(लामो हाँसो…) राम्रो युवा वा युवतीप्रति कोही आकषिर्त हुनु सामान्य कुरा हो । राम्रा युवतीले मलाई पनि लोभ्याउँछ । धेरै युवतीहरू मलाई माया गर्छन्, खुसी लाग्छ । तर, अहिलेसम्म मैले यसलाई प्राथमिकतामा राखेको छैन ।
नेपाली फ्यानलाई तपाईंको सन्देश ?
‘आई लभ यु अल…’ मेरो काम हेरेर सल्लाह दिन अनुरोध गर्छु । म राम्रा कामका लागि मिहिनेत गर्दैछु । प्लिज किप सर्पोटिङ मि ।
(साभार - कान्तिपुर)





