Apr 082010
 

नयापत्रिका पत्रिका संग को कुराकानीमा राधा लम्साल ‘भावु’ ले आफ्नी छोरी अरुणिमालाई आफ्नी बहिनीको लागि भनेर जन्माएकी थिए भनेकी छिन.

Advertisement

बिहे हुदा म १७/१८ की थिएँ होला । ३० सालमा बिहे भयो । भर्खर आइए पढ्दै थिएँ । व्यावहारिक र आज्ञाकारी थिएँ । त्यतिवेला कम उमेरमा बिहे गर्ने चलन थियो ।

वेलैमा बच्चा पाएपछि हुर्काउन सजिलो भन्ने गर्नुहुन्थ्यो मेरी आमा र सासूआमा । हामीले उहाँहरूको सल्लाह शिरोपर गर्‍यौँ । र, बिहे भएको दुई वर्षमै हाम्रा दुई छोरा भए । श्रीमान्को जागिर विराटनगरमा थियो ।

मपछिकी बहिनीको पनि बिहे भइसकेको थियो, तर बच्चा भएको थिएन । डाक्टरले मेरी बहिनीको बच्चा हुदैन भनेका थिए । दुई छोरा भएपछि हामी परिवारनियोजन गर्ने निर्णयमा पुग्यौँ, तर मेरो उमेर कलिलो भएकाले परिवारनियोजन नगर्ने सल्लाह दिइयो । मेरा बहिनी र ज्वाइँले ‘म्रो बच्चा छैन, तपाइंहरूका दुइटा छोरा छँदै छन्, हाम्रा लागि एउटी छोरी जन्माइदिनूस्, हामी पाल्छौँ’ भने । दिदीबहिनी नभएकाले तिहारमा मेरा छोराहरू आमाजूकी छोरीको हातबाट टीका लगाउँथे । मलाई पनि एउटी छोरी भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । हामी श्रीमान्-श्रीमतीबीच बहिनी र ज्वाइँका लागि एक सन्तान जन्माउने सल्लाह भयो ।

र, विराटनगर अस्पतालमा मैले छोरी जन्माएँ । त्यसवेला मेरो स्याहार, सुसार बहिनी-ज्वाइँले गरे । अस्पतालको खर्चबर्च पनि उनीहरूले नै बेहोरे । मैले बच्चा जन्माउनुअघि नै उनीहरूलाई भनेकी थिएँ, ँबच्चा देखेँ भने ममा आमाको ममता जाग्छ । त्यसकारण जन्मनेबित्तिकै लगेर विधि गरी आफ्नो गोत्रमा ढालिहाल्नू ।’ मेरी बहिनी विदेश बसेकी, निकै मोर्डन । नवजात शिशु सम्हाल्न उसलाई गाह्रो लाग्नु स्वाभाविकै थियो । उनीहरूले ‘भर्खरको बच्चा कसरी लग्नू, गाह्रो हुन्छ । न्वारान गरेपछि लग्छौँ,’ भने । त्यसपछि बच्चीको न्वारान भयो । ४ भदौको सूर्योदयमा जन्मिएकाले मेरा ससुराले बच्चीको नाम राखिदिनू भयो- अरुणिमा ।

बहिनी-ज्वाइँले अरुणिमालाई आफ्नो सन्तानलाई झैँ माया गरे । उनको स्याहार-सुसार गरे । भर्खर जन्मिएको बच्चा हुर्काउन आमाबाहेक अरूलाई मुस्किल हुन्छ । हामी एउटै घरमा डेरा गरी बस्थ्यौँ । बच्चा हुर्काउनुको सास्ती देखेर उनीहरूले भने, ‘बच्ची सानै छे । पास्नी गरेपछि लैजान्छौँ ।’

अरुणिमाको पास्नी पनि भयो । लगत्तै ज्वाइँको सोलुखुम्बु सरुवा भयो । त्यस्तो विकट र जाडो हुने ठाउँमा ६ महिनाकी बच्ची लगेर कसरी हुर्काउन सक्थे उनीहरूले ? र, यसरी अरुणिमा मेरै काखमा हुर्की । तर, मेरा बहिनी-ज्वाइँंले उसलाई यति माया गरेका छन् कि ऊ अहिले पनि उनीहरूलाई डयाडी-मम्मी भन्छे । हामीलाई चाहिँ बाबा-भावु भन्छे । ज्वाइँं अरुणिमालाई सानोमा ‘तिमी ठूली भएपछि हिरोइन बन्यौ भने म तिम्रो सेक्रेटरी बन्छु,’ भन्नुहुन्थ्यो । अहिले उनीहरू अमेरिका बस्छन् । अरुणिमालाई पैसा, कपडा पठाइदिइरहन्छन् । अरुणिमाको बिहेमा पनि पैसा हालिदिएका थिए ।

अरुणिमा बैंकर बन्न चाहन्थी तर बालकलाकार बनी

सानैदेखि अरुणिमा तीक्ष्ण बुद्धिकी थिई । पढाइमा अब्बल थिई । कक्षामा सधै पहिलो हुन्थी ।

सिलाइ, बुनाइ, डान्स, सबै कुरामा ऊ सिपालु थिई । पाँच कक्षामा पढ्दा हो क्यारे, उसलाई डान्स सिक्न मन लागेछ । स्कुल बिदा थियो । उसले ‘भावु, मलाई डान्स सिक्न मन लाग्यो,’ भनी । मैले उसलाई वसन्त श्रेष्ठको डान्स क्लासमा भर्ना गरिदिएँ । डान्सका स्टेप फटाफट टिप्थी । स्कुलमा हुने कार्यक्रममा निकै राम्राे नाच्थी । साथी बटुलेर उनीहरूलाई पनि घरमै डान्स सिकाउँथी ।

अस्थायी जागिर छाडेपछि मैले ब्युटीपार्लर सुरु गरेँ । अरुणिमाले पनि पार्लरको काम सिकी । एकचोटि सिकाएपछि उसलाई दोहोर्‍याएर सिकाउनु पर्दैन । उसलाई पार्लरका सबै काम आउँछन् ।

पहिले अरुणिमा फिल्म पटक्कै मन पराउँदिनथी । आमा-बाबु बैंकको जागिरे भएकाले ऊ धेरै पढेर बैंकर बन्छु भन्थी । म सुटिङमा हिँडिरहन्थेँ । उसलाई पनि आफूसँग लान खोज्थेँ । तर, ऊ जान मान्दिनथी । ‘राजेश हमाल, जल शाह छन्, हिँड’ भन्दा पनि वास्ता गर्दिनथी ।

बाल्यकालमा अरुणिमाले हामीलाई खासै सताइन । कहिलेकाहीँ भने जिद्दी गर्थी । साह्रै जिद्दी गरी भने म उसलाई पिटपाट गर्थेँ । अलि ठूली भएपछि भने उसले मलाई धेरै कुरा सिकाउन थाली । भन्न थाली, ‘भावु, तिमी पुरानो जमानाकी भयौ । नयाँ जमाना अनुसार चल्ने गर ।’

सानैदेखि घरको हिसाब-किताब राख्ने, किचनका सामान र कपडा आफै किन्ने गर्थी अरुणिमा । उनले खाना पकाउन पनि निकै जाँगर देखाउँथी । घरमा काम गर्ने मान्छे भए पनि किचेनमा पसेर आफैँ खाना पकाउने गर्थी । अहिले सुटिङमा कहिलेकाहीँ विभिन्न परिकार बनाएर खुवाउने गर्छे रे अरूलाई । घरमा पनि आफै खाना पकाउँछे ।

म सन्तोष पन्तले निर्देशन गर्ने लोकपि्रय टेलिशृंखला ‘हिजोआजको कुरा’ मा अभिनय गर्थेँ । अरुणिमा सात कक्षामा पढ्थी क्यारे । एक दिन उसलाई सुटिङमा लिएर गएकी थिएँ । त्यहाँ बालकलाकार चाहियो । सन्तोष पन्तले ‘अरुणिमालाई खेलाऊँ,’ भन्नुभयो । उसलाई खेलाइयो । सबैलाई छक्क पार्दै अरुणिमाले लामो संवाद फररर बोली । उसको अभिनय देखेर सबै जिल्ल परे । सन्तोषजीले भन्नुभयो, ‘यो नानी त निकै तगडा रहिछे । हिरोइन बनी भने सबैलाई खाइदिन्छे ।’

इगोले हिरोइन बनेकी हो

बालकलाकार भएर टिभीमा देखिए पनि उसलाई फिल्म खेल्ने इच्छा भने थिएन । मैले सुटिङमा लैजान खोज्दा ‘मेरो पढाइ बिग्रन्छ, जान्न,’ भन्थी । लिटिल एन्जल्समा दस जोड दुई पढ्दै थिई । कलेज-घर आउँदा-जाँदा निर्देशक दीपक श्रेष्ठले नयाँबानेश्वर चोकमा अरुणिमालाई देखिरहनुभएको रहेछ । सोधखोज गर्दै जाँदा उहाँले अरुणिमा मेरो छोरी हो भनेर थाहा पाउनुभएछ । अनि उहाँले ‘दस जोड दुई’ पढ्ने केटाकेटीका कथामा अजम्बरी माया नामक फिल्म बनाउँदै छु, मलाई अरुणिमा जस्तै कलाकार चाहिएको छ, रोल राम्रो छ,’ भन्नुभयो । मैले अरुणिमा फिल्म खेल्न नचाहने बताएँ । उहाँले ‘केही गर्नु पर्दैन, निरुता सिंहकी साथी, साइड हिरोइनको रोल हो, क्लासमा पढेझैँ गर्नुपर्छ,’ भन्नुभयो । मेरी साथी शैलजा पाण्डेकी छोरी कादम्बिनी पनि त्यस फिल्ममा खेल्दै रै’छे । अरुणिमा र कादम्बिनी साथी थिए । त्यसैले ऊ अजम्बरी मायामा खेल्न राजी भई ।

सुटिङमा अरुणिमाले एकदम हीनताबोध महसुस गरिछे । किनभने उनीहरूलाई त्यस्तै व्यवहार गरिएछ । निरुतालाई एकजनाले छाता ओढाइरहने र छिनछिनमा जुस ल्याइदिरहने, तर अरुणिमालाई भने कसैले वास्तै नगर्ने । अरूको क्लोज सट खिच्ने, उसलाई भीडभाडमा मात्र उभ्याइदिने । दिनभरि काम गराएर पनि खाए नखाएको नसोध्ने । अरुणिमाले मलाई सुटिङमा ऊसँग गरिएको व्यवहारबारे बताई र अब सुटिङमा जान्न भनेर अड्डी कसी । मैले निर्देशक दीपक श्रष्ठलाई फोन गरेर ‘के हो डाइरेक्टर साब, मेरी छोरीलाई त कसैले पानी पनि सोध्दैनन् रे,’ भने । उहाँले ‘त्यस्तो नहुनुपर्ने,’ भन्नुभयो ।

हिरोइनका रूपमा निरुताको सान र सम्मान देखेपछि अरुणिमाले धेरै सोचिछे । ‘बैकमा जागिर खाएँ भने हिरोइनले जत्तिको मान-सम्मान कहाँ पाइन्छ र ? फेरि, मलाई ढोकामै हिरोइन बन्ने अफर आइरहेको छ भने किन नबन्ने ?’ उसले यस्तै-यस्तै सोचिहोला भन्ठान्छु ।

र, अरुणिमाले हिरोइन बन्ने निर्णय गरी । अजम्बरी मायामा उसले लामा-लामा संवाद पनि एकैसटमा ओके गरिछे । उसकी साथी कादम्बिनीले भने गर्न सकिनछे । उसको संवाद पनि अरुणिमालाई नै बोल्न लगाइएछ । उसकोे प्रतिभाको चर्चा चल्न थालेपछि यस्तै रहेछ जिन्दगानी नामक फिल्मबाट उसलाई अफर आयो । फिल्म कम्पनी नमस्ते नेपालबाट पनि फोन आयो । अरुणिमा र म गयौँ । त्यहाँ ऊसँग अनेक प्रश्न गरियो । उसले निडर भएर भटाभट जवाफ दिई । उसलाई नवरसमा अभिनय पनि गर्न लगाइयो । उसले फटाफट गरेर देखाई । उसको अभिनय देखेर नमस्ते नेपालका मानिस दंगै परे । उनीहरूले भने, ‘तिमी हाम्रो फिल्ममा छानियौ । राजेश हमालको बहिनीको रोल छ । हाम्रा अरू फिल्ममा पनि लिन्छौँ ।’

त्यसपछि अरुणिमाले शुभसन्ध्या भन्ने कार्यक्रममा एंकरिङ गरी । टेलिविज्ञापनका साथै मह जोडीले निर्माण गरेको टेलिशृंखला असल लोग्नेमा अभिनय गरी । फिल्म धड्कनबाट ऊ हिरोइनका रूपमा चम्की ।

किस सिन काटियो

निर्देशक दीपक श्रेष्ठले अजम्बरी मायामा अरुणिमाको दस जोड दुई पढ्ने सामान्य केटीको भूमिका हो, कुनै भद्दा सिन छैन,’ भन्नुभएको थियो । तर, पछि त कलेजको कुनामा अरुणिमा र केटाको किस सिन राख्नुभएछ । अरुणिमाले मलाई सबै कुरा बताई । मैले निर्देशकलाई ‘सामान्य रोल हो भनेर खेलाउने अनि अहिले मेरी अबोध छोरीलाई किस सिन दिन लगाउने ?’ भनेर कराएँ । उहाँले ‘किस सिन हैन, किस गरेजस्तो मात्रै गर्नुपर्छ,’ भन्नुभयो । क्यामेराम्यान मुरारीजीसँग सोध्दा उहाँले ‘फिल्ममा हेर्दा किसै गरेको देखिन्छ,’ भन्नुभयो । अनि मैले निर्देशकलाई भनेँ, ‘मेरी छोरी जुन दिन हिरोइन हुन्छे, त्यस दिन कथाअनुसार बलात्कार, किस सिन सबै दिन्छे । तर, अहिले त्यस्ता सिन खिच्न दिन्नँ,’ भने । पछि त्यो सिन काटियो ।

त्यसपछि निर्देशक दीपक श्रेष्ठले हल्ला चलाउनु भएछ, भावु दिदीकी छोरीलाई त छुन पनि हुन्न । दाग लाग्छ रे ।’ फिल्म लाइनमा हंगामै मच्चिएको थियो ।

लभ परेको रहेछ

अरुणिमा चम्कँदै गएपछि कहिले उसको नाम कुन निर्देशकसँग जोडियो, कहिले कुन हिरोसँग त कहिले कुन निर्मातासँग । म पनि कलाकार हुँ । मलाई थाहा छ- यी सबै मेरी छोरीको रिस गर्नेले चलाएका हल्ला हुन् । सम्पूर्ण फिल्म लाइन राम्रो छ भनेर म भन्दिनँ, तर यस लाइनमा नराम्रा मान्छेमात्रै छन् भन्नु केवल पूर्वाग्रह हो । अरुणिमाको जोसँग नाम जोडिए पनि त्यो बजारिया हल्ला मात्र हो भन्नेमा म विश्वस्त थिएँ । उसको कसैसँग लभ अफेयर छ भन्ने मलाई थाहा थिएन ।

चाडबाडमा अरुणिमा विराटनगर उसको डयाडी-मम्मी (मेरा बहिनी-ज्वाइँ) कहाँ गइरहन्थी । त्यहाँ एकजनाले अरुणिमालाई निकै मन पराएका रहेछन् । उनले हाम्रा आफन्तमार्फत अरुणिमालाई प्रेम प्रस्ताव राखेछन् । अरुणिमाले मलाई पछि बताएअनुसार उसले ‘मसँग प्रेम गर्ने भए धेरै पढ्नुपर्छ, कम्तीमा डिग्री गर्नुपर्छ, बैंकमा जागिर खानुपर्छ, यस्तो लिखुरे होइन, हेन्डसम बन्नुपर्छ,’ भनेर केटाको सातो खाइछे । उनी अरुणिमालाई कति चाहँदा रहेछन् भने जिमसिम गरेर हेन्डसम बनेछन्, डिग्री गरेछन् अनि एनआइसी बैंकमा जागिर खाएछन् । उनीहरूको प्रेम चलिरहेको रहेछ । एक दिन अरुणिमाले मलाई हिन्ट दिई, भावु, आफ्नै जातको, डिग्री गरेको, बैंकमा जागिर खाएको केटा पाए ऊसँग मेरो बिहे गरिदिन्छौ ?’ मैले ‘त्यस्तो केटो पाए त टाउको फोरेरै दिन्छु नि,’ भनेँ । कुरा बुझ्दा उनीहरू सात वर्षदेखि प्रेम गरिरहेका रहेछन् । अनि, अरुणिमाको बिहे उनै केटा (अमित अर्याल) सँग गरिदियौँ । ज्वाइं निकै बुझकी हुनुहुन्छ । अरुणिमालाई निकै माया गर्नुहुन्छ ।

खर्चालु छे

अरुणिमा सानैदेखि निकै खर्चालु छे । म फारु गर्न खोज्ने, ऊ भने पैसा उडाइहाल्ने । ऊ भन्छे, ‘लोभी हुनुहुन्न । मन परेको खाइहाल्नुपर्छ, लगाइहाल्नुपर्छ । म भने भोलिका लागि सोच्नुपर्छ भन्छु । ऊ भन्छे, ‘आज बाँच्नुपर्छ, भोलि देखा जायगा । यस कुरामा भने हामी आमाछोरीको ठाकठुक परिरहन्थ्यो ।

अहिले पनि ऊ निकै खर्चालु छे । विदेश गएर दुःखले कमाएको पैसाको पनि मलतब गर्दिन । कपडा, गिफ्टमै पैस्ाा सिध्याउँछे । मलाई २२ हजार रुपैयाँ पर्ने चस्मा उपहार दिएकी छे । ज्वाइँं साब पनि बिन्दास हुनुहुन्छ । उहाँ पनि लोभ गर्नुहुन्न । दुईजनाको जोडी खुब मिलेको छ ।

डिभोर्स हुने हल्ला चल्यो

एकपछि अर्का गर्दै अरू हिरोइनको डिभोर्स हुन थालेपछि फिल्म लाइनमा हल्ला चल्यो- अरुणिमाको पनि डिभोर्स हँुदै छ । अरू हिरोइन र अरुणिमामा धेरै फरक छ । उसको परिवार निकै समझदार छ । सम्धी-सम्धिनी, ज्वाइँं साब सबैले फिल्म लाइन कस्तो हुन्छ, राम्ररी बुझ्नुभएको छ ।

त्यस्तो मरिहत्ते गरेर बिहे गर्नुभएको ज्वाइँं साबले अरुणिमासँग डिभोर्स गर्नुहुन्छ ? अनि आफ्ना लागि सबथोक गर्ने श्रीमान्सँग अरुणिमाले नाता तोड्न सक्छे ? यो हुनै नसक्ने कुरा हो । पहिला यस्ता वाहियात हल्ला सुन्दा तनाव हुने गथ्र्याे, अचेल हाँसो उठ्छ ।

निर्देशक बन्न चाहन्छे

अरुणिमा निकै तगडा छे । अंग्रेजी फररर बोल्छे । त्यही भएर अंग्रेजी फिल्म रिमेम्बर मी र स्टार प्लसको सिरियल सोन परीमा अभिनय गर्ने मौका पाई ।

शंकरदेवमा बिबिएस पढ्दै थिई । फिल्मतिर व्यस्त भई । बिहे भयो । पढाइ पूरा गर्न सकिन । हामीलाई पढाइ सिध्याएकी भए हुन्थ्यो भन्ने लाग्छ । तर ऊ भन्छे, ‘अब म निर्देशक बन्छु । ऊ अब फिल्म कलेजमा निर्देशन पढ्न चाहन्छे । स्त्रिप्ट पनि लेख्छे । दीपशिखा फिल्मको स्त्रिप्ट उसैले लेखेकी हो । निकै क्रियटिभ छे । फिल्म बनाउँदै छे । उसको हरकदममा मेरो साथ र समर्थन छ ।

आमा बन्न चाहन्छे

अरुणिमा दुई वर्षभित्र आमा बन्न चाहन्छे । हामीलाई पनि नाति-नातिना खेलाउने रहर छ । तर, अहिले ऊ निकै व्यस्त छे । ज्वाइँ साहेब पनि दुई-चार वर्षपछि बाबु बन्ने भन्नुहुन्छ । आमा बनेपछि अरुणिमा फिल्म निर्माण र निर्देशनमा सक्रिय हुन चाहन्छे । फिल्म पनि खेलिरहन चाहन्छे । हाम्रो पनि त्यही इच्छा छ ।

प्रस्तुतिः लक्ष्मण सुवेदी

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: